नागरिकले अनुभव गर्ने गरी सेवामा लाग्ने सुर्खेत एसपीको भनाइ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले आम नागरिकले अनुभव गर्ने गरी सेवा प्रवाहमा लाग्ने बताएका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै एसपी पोखरेलले शान्ति सुरक्षामा नागरिकले महशुस गर्ने गरी सेवामा खटिने बताएका हुन् । अहिलको समयमा कुरा भन्दा कामबाटै आफ्नो क्षमता र परिणाम देखाउने समय भएकोले आफ्नो टिम लक्ष्य पूरा गर्न र नतिजा ल्याउन केन्द्रित हुने उनको भनाइ छ ।

लागुऔषध ओसारपसार, चोरी निकासी, झैझगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटनामा वृद्धि हुँदै गएको विषयमा पत्रकारहरूले राखेको पश्नमा जवाफ दिदै एसपी पोखरेलले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधिनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने जनाए । यसमा सञ्चाकर्मीको साथ र सहयोगको अपेक्षा राखेको उल्लेख गरेका छन ।

‘सञ्चारकर्मी राज्यका चौथो अंग हुन्, शान्ति सुरक्षा र अमन चयनमा तपाईहरुको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ, अपराध तथा आपराधिक घटनाको सूचना भएको खण्डमा प्रहरीलाई जानकारी गराउनुहोस्, तपाईले दिएको सूचनाले अपराधलाई निरुत्साहित गर्नमा टेवा पुग्छ,’ उनले भने, ‘प्रहरी सूचनाको भोको छ, जति छिटो र गुणस्तरीय सूचना पाउँछ, त्यति नै छिटो परिणाम हात लाग्नेछ । त्यसैले एक्लै त केही गर्न सकस नै हुन्छ, नागरिकसँगको समन्वय र जनविश्वासले अपेक्षित परिणाम पक्कै पाउने छौं ।’

उनले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग अपेक्षा राखे । जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै एसपी पोखरेलले सामाजिक अपराध, लागूऔषध दुव्र्यसन तथा साइबर अपराधका चुनौती बढिरहेका बेला प्रहरी प्रशासन अझ जिम्मेवार, जनमुखी र परिणाममुखी बन्नुपर्नेमा विश्वस्त रहन आग्रह गरे ।

लुम्बिनी प्रदेश प्रहरी गणमा कार्यरत पोखरेल अहिले सुर्खेतको प्रहरी प्रमुख बनेर आएका हुन् । यसअघिका सुर्खेत प्रहरी प्रमुख रहेका (एसपी) सुधिरराज शाहीको प्रहरी प्रधान कार्यालय युएन शाखा नक्साल काठमाडौं सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *