जनताको अवस्था फेर्न एमाले काँध थापेर लाग्छ : ओली


नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन्।

मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो? भनी प्रश्नसमेत गरे।

उनले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे।

ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताए।

उनले भने, ‘अवस्था परिवर्तन भएको छ। अवस्था फेरिएको छ। अवस्था पहिलेभन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ। यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्‍याउने हाम्रो अगाडि जिम्मेवारी छ।’

अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *