खानेपानीको अभावका कारण पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाबासीहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार उनीहरूले चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । रेक्चाका सबैजसो घरधुरीबाट गाउँपालिकाको मुकाम गुटु आएका नागरिकहरूको पिठ्युँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट थिए । उनीहरूको एउटै थियो, ‘२१ औँ शताब्दीमा एक गाग्री पानीका लागि कति वर्ष कुर्ने सरकार ?’
रेक्चा पालिकाको मुकाम गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दुरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौँदेखि पानीको अभावमा गुज्रिरहेको छ । स्थानीय तपेन्द्र क्षेत्रीले खानेपानी सङ्घर्ष समितिको नेतृत्व गरिरहेका छन्, उनी वडा सदस्य पनि हुन् । उनकै नेतृत्वमा यहाँका महिला, केटाकेटीदेखि बुढापाकाहरू बिहीबार बिहानै डोको र गाग्री बोकेर आन्दोलन गर्न पालिकाको मुकाम गुट आएका हुन् ।
स्थानीय निर्मला शाहीले अहिलेको समयमा पनि खानेपानी नहुँदा मर्नुपर्ने स्थिति आएको बताइन् । ‘पानीको स्रोतहरू छैनन्, खडेरीका कारण भएका कुवा सुकेपछि अहिले खानेपानी नै छैन,’उनले भनिन्, ‘हामी पानीबिनाको माछा जस्तै भएका छौँ ।’
