प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरूसँग छलफल गरेका छन्।
बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गरेका हुन्।
बैठक प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।
उनले समाजवादी मोर्चामा पहिले ४ वटा पार्टी भए पनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिएको बताए।
उनले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ नगरेको र नेताहरूले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताए।
उनले नेताहरूले अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरूको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताए।
