नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानून सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताए। उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गरी न्यूनीकरण गर्न आवश्यक रहेको बताए।
उनले सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे। उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको सुनाए।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानूनी व्यवस्था आवश्यक रहेको उल्लेख रहेको बताए।
उनले संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालसम्बन्धी रिपोर्ट दिँदै भ्रष्टाचारयुक्त मुलुकमा नेपाल ५० अंकभन्दा तल रहेको बताएको जानकारी दिए।
उनले स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार पनि बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र नियमन गर्ने कुरा कमजोर बनेको देखिएको बताए। उनले राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानून आवश्यक देखिएको औँल्याए।
