१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न


१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत पैरबी समूहको नेतृत्वमा लागुपदार्थ दुर्व्यसन, बालविवाह, जातीय छुवाछुत, र लैङ्गिक हिंसाका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गुर्भाकोट-६ र १२, भेरीगंगा-११ र १२, लेकबेंसी-१ र ७, र वीरेन्द्रनगर-१ र ११ मा सडक नाटकसहितको र्‍याली र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा प्रदर्शन गरिएका नाटकले समाजमा व्याप्त समस्याहरूको यथार्थ चित्रण गरेका थिए। यसले परिवार र समाजमा अशान्ति निम्त्याउने हानिकारक मान्यता र दुर्व्यसनबारे गहिरो सन्देश दिएको थियो।
वीरेन्द्रनगर-१ का वडा अध्यक्ष दिनेश खत्रीले भने, “नाटकले समाजमा व्याप्त समस्याको यथार्थ चित्रण गरेको छ। यस्ता हानिकारक मान्यता र दुर्व्यसनले परिवार र समाजमा अशान्ति निम्त्याउँछ। यी समस्याहरू समाधान गर्न सबैजना लागि पर्नुपर्ने समय आएको छ।”

गुर्भाकोट-६ का वडा अध्यक्ष गोबिन्द वलीले बालविवाहको असरमाथि प्रकाश पार्दै भने, “हाम्रो समाजलाई बालविवाहका कारण धेरै समस्याहरू छन्। यसले बालबालिकाको उज्ज्वल भविष्यमा बाधा पुर्‍याउनुका साथै समाजमा अन्य विकृति फैलाउने काम गरिरहेको छ। यसलाई रोक्न सबैले एकजुट भएर काम गर्नुपर्छ।”

कार्यक्रमले समुदायमा रहेका सामाजिक कुरीतिहरूको अन्त्यका लागि जनसहभागिता र सक्रियतालाई प्रेरित गरेको छ। विभिन्न स्थानमा सञ्चालन गरिएका यी अभियानहरूले समुदायलाई सचेत बनाउनुका साथै समस्या समाधानका उपायहरूमाथि छलफल गराएको आयोजकहरूको भनाइ छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, विद्यार्थी, र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। यसमा स्थानीय सरकारले पनि साझेदारी गर्दै आएको छ।

कार्यक्रम हाम्रो सहकार्य परियोजना अन्तर्गत दलित महिला संघ र जूरी नेपालको साझेदारीमा सञ्चालन गरिएको हो। परियोजनाले सुर्खेतका चारवटा पालिकाका दुई/दुई वडामा पाँचदेखि आठवटा सामुदायिक कार्ययोजना तयार गरी कार्यान्वयन गरिरहेको छ। सामुदायिक नक्सांकनका आधारमा तयार गरिएको यो कार्यक्रमले समुदायलाई अझ जिम्मेवार र सचेत बनाउने उद्देश्य राखेको छ, परियोजनाका प्रदेश संयोजक मिना बिस्वकर्माले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *