पूर्वराजा शाहले प्रजातन्त्रप्रति विष वमन गरे : एमाले सांसद गैरे


नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विष वमन गर्ने कोशिस गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा सांसद गैरेले पूर्वराजा शाहमाथि यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको आरोपसमेत लगाए।

उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिरसमेत गरे। उनले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको दावी गरे।

‘फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरु, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरुप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विष वमन गर्ने कोशिस गरे। जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तनलगत्तै २०४८ सालको निर्वाचनताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो– महाराज हात नलम्काईबक्सियोस्‚ आँखा नझिम्काईबक्सियोस्। संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस्‚’ उनले भने, ‘हामीलाई कुनै आपत्ति छैन् तर संविधान उल्लंघनको कोशिस भयो भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन। राजा ज्ञानेन्द्रले संविधान उल्लङ्घन गर्ने कोशिस गरे। संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे। निरङ्कुशता लाद्ने र दलहरुलाई बन्देज लाउने कोशिस गरे। त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो।’

उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्नसमेत शाहलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *