सुर्खेत ०३,चैत्र ।
पत्रकार महासंघ सुर्खेत शाखाको आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखाको अफिसियल डिजिटल वेबसाइट सार्वजनिक गर्नुभएको हाे ।

वेबसाइटको सार्वजनिक गर्दै अध्यक्ष शर्माले डिजिटल युगमा जवाफदेही र जिम्मेवार पत्रकारिताकाे लागि वेबसाइट आवश्यक रहेको र त्यसको पहिलो शुरुआत सुर्खेत शाखाले गरेको बताउनुभयो ।
शर्माले यसबाट सदस्यता शुद्धिकरणमा देखिदै आएको समस्या समाधानमा सहयोग पुग्ने भएकोले अन्य शाखाहरूले पनि वेबसाइट निर्माण गर्नुपर्ने जनाउँदै त्यसको कार्ययोजना पत्रकार महासंघ केन्द्रले तयार गरेको बताउनुभयो ।
वेबसाईटमा राखिने विषयवस्तुले शाखाबाट हुने सम्पूर्ण गतिविधिलाई पारदर्शी बनाउने र त्यसकाे अभिलेख मात्र केन्द्रले राख्ने शर्मााकाे भनाइ थियोे । वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले वेबसाइटका विवरणमार्फत आवश्यक जानकारी लिन सहज हुने भएकोले पत्रकार हाे हाेइन भनी खाेज्नुपर्ने अवस्थाको अन्त्य हुुने बताउनुभयो ।
पछिल्लो समय सञ्चार क्षेत्रमाथि नै ज्यादती बढिरहेको उल्लेख गर्दै महासचिव दाहालले संघीय सरकारले निर्माण गरेको सामाजिक सञ्जाल नियमन विधेयकमा राखिएका प्रेस स्वतन्त्रतामा आघात पुर्याउने व्यवस्था यथास्थितिमा नेै स्विकार्न नसकिने बताउनु भयाे। संघीय सरकारले मात्रै होइन प्रदेश र स्थानीय तहले निर्माण गरेका कतिपय कानुनहरु प्रेसमैत्री नभएको महासचिव दाहालको जिकिर थियो ।
महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले महासंघको तीन बर्षे कार्ययोजना अनुसार पहिलो काम वेबसाइट निर्माण गरिएको बताए । उपाध्यक्ष सुशील खड्काको स्वागत र सचिव गाेविन्द खत्रीको सञ्चालनमा सम्पन्न वेबसाइट सार्वजनिक कार्यक्रममा जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरूकाे उपस्थिति रहेको थियोे ।
