कर्णालीमा माओवादी निकट विद्यार्थी संगठनको दबदबा


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले दबदबा कायम राखेको छ । उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीमा ३३ वटा क्याम्पस छन् । तीमध्ये ७ क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ ।

मंगलबार भएको चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीले १२, नेकपा एमाले निकट अनेरास्ववियूले ८ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ६ वटा क्याम्पसमा जित हासिल गरेको छ । अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ । सबै राजनीतिक दलहरूले प्रतिष्ठानको विषय बनेको सुर्खेत बहुमुखी क्याम्पसमा भने चुनाव हुन सकेन । यसअघि एमाले निकट विद्यार्थी संगठनले जितेको सुर्खेत बहुमुखीमा एमाले निकट विद्यार्थीहरूले नै तोडफोड गरेपछि चुनाव स्थगित भएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष अटल आचार्यले आधार इलाकामा आफ्नो संगठनले वर्चस्व जमाउन सफल भएको बताउँछन् । ‘क्रान्तिको धार भएको प्रदेश हो, पार्टीको आधार इलाका पनि हो,’ उनले भने, ‘कतिपय ठाउँमा सर्वसम्मत तरिकाले पनि हाम्रा उम्मेदवारले जित्नुभयो ।’

एमाले निकट अनेरास्ववियुले कर्णालीमा दोस्रो स्थान हासिल गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सह–इन्चार्ज रेखा थापा कर्णालीमा एमालेले जित्ने क्याम्पसमा चुनाव हुन नसकेका कारण दोस्रो स्थान आएको बताउँछिन् ।

राजनीतिक रुपमा सबैभन्दा ठुलो दल कांग्रेस भने स्ववियु निर्वाचनमा तेस्रो स्थानमा छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाही नेविसंघले चुनाव जित्न सक्ने क्याम्पसमा चुनाव हुन नसकेका कारण आफ्नो पक्षमा नतिजा कम देखिएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *