कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सबै गणतान्त्रिक शक्तिको सम्पत्ति भएको बताउनुभएको छ ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको जागरसभालाई सम्बोधन गर्दै कँडेलले गणतान्त्रिक शक्तिको लामो संघर्षबाट यो व्यवस्था स्थापित भएको बताउनुभयो । यसमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका रहेको कँडेलले स्मरण गराए ।
जसले लामो समय शासन सत्ता चलायो उनीहरूले नै अहिले देशमा शासन व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फिँजाइरहेका बताए । ‘देशको व्यवस्थामा परिवर्तन भयो, अब एमालेको काँधमा देशको अवस्था परिवर्तन गर्नुपर्ने जिम्मेवारी रहेको छ’, कँडेलले भन्नुभयो ।
नेकपा एमालेले सत्तामा गएपछि राम्रो काम गर्ने र त्यही राम्रो काम गरेकै कारण सत्ताबाट हटाई स्थिति भोग्दै आएको उनले बताए । ‘नेकपा एमाले त्यसलाई परिवर्तन गर्न चाहन्छ’, उहाँले भन्नुभयो ।
सरकारमा रहँदा राम्रो काम गरे पनि त्यसको प्रचार हुन सकेन भने केही पटाहाहरूले जनतालाई अलमल्याएको उहाँले बताउनुभयो । त्यसैले एमालेले जनताको बिचमा जाने अभियान अघि बढाएको कँडेलले जानकारी दिनुभयो ।
देशको अवस्था र स्थिति विगतको भन्दा बदलिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको कँडेलले बताउनुभयो । त्यही काम गर्नको लागि नेकपा एमालेले आउने चुनावमा एकल बहुमत मागेको उहाँले स्पष्ट पार्नुभयो। पूर्वाधारको विकास गर्न नसक्दा कर्णालीलाई विपन्न भनिएको भए पनि सम्पदाका हिसाबले कर्णाली निक्कै धनी भएको उहाँले बताउनुभयो ।
