कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने हुनुभएको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उहाँको विदा स्वीकृत गरेको छ । उहाँ जेठ ५ गतदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहनुहुने छ । सोही अवधिका लागि उहाँको विदा स्वीकृत भएको छ ।
उहाँको अनुपस्थितिमा कर्णाली प्रदेशको कामु सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई तोक्न राष्ट्रिपति समक्ष सिफारिस गरिएको निर्णयमा उल्लेख छ ।
प्रदेश प्रमुख जोशीका प्रमुख स्वकीय अफिलाल जोशीले आँखाको उपचारका लागि प्रदेश प्रमुख अमेरिका जान लागेको बताउनुभयो ।
‘आँखाको समस्या रहेको छ, सकेसम्म नेपालमै उपचार सम्भव नभएपछि अमेरिका जान लाग्नु भएको हो,’ उहाँले भने, ‘सुरुमा नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतकै सल्लाह अनुसार उहाँ बाहिर जान लाग्नु भएको हो ।’
जोशीका अनुसार रुइतले नेपालमा सम्भव नभएको र आफुले नै चिनेको एक हस्पिटलमा उपचारका लागि रिफर गर्नुभएको हो ।उहाँ अमेरिका जाने भएपछि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम सुदूरपश्चिमका प्रदेश प्रमुखले वाचन गर्नुहुने छ ।
