नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचार आएको भन्दै नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ।
कांग्रेसले आज विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचार आएको भन्दै निन्दा र भर्त्सना पनि गरेको हो।
“कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो। उहाँले कहीँकतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगणन्ते ढङ्गले आमसञ्चारमाध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरित हो”, विज्ञप्तिमा उल्लेख छ।
त्यस्ता भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गर्नुका साथै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई आग्रह गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापति देउवालाई जोडेर हृदयेन्द्र शाह राजा बनेमा समर्थन रहने भनेर समाचार बाहिर आएको थियो।
