गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : रामहरी खतिवडा


पाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गर्नुभएको छ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनुभयो।

यद्यपि कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ। गृह मन्त्रालय अन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने बताउनुभयो।

प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेका छन्।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *