कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले आमाको घर (पाठेघर) स्वस्थ रहन जरुरी रहेको वताएका छन्।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा एच.पी.भी. डीएनए परिक्षण मार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्।
उनले हिजो आमाहरुको पालामा खुलेर पाठेघर भन्न नसक्ने अवस्था थियो आज विभिन्न जनचेतनामुलक कार्यक्रमको प्रभावले गर्दा आमाहरुले प्रयोग गर्नै शब्द आँङ खस्ने बाट खुलेर पाठेघर खस्ने भन्न सक्ने अवस्था आइसकेको छ।अब यो अवस्थालाई हामिले घाम पानी ओत लाग्न बनाएको घर रङरोगन गरेजस्तै आँफु नौ महिना बसेको आमाको घरलाई स्याहार सुरक्षा गरी स्वस्थ बनाउनमा जोड गर्नुपर्नै बताए।
बसाँइसराइको मुख्य कारण अहिले पनी उपचार हो। त्यसैले अभिमुखिकरण गोष्ठी जस्ता कार्यक्रमहरुलाई भत्तामुखी मात्र नसोची गाँउघरका आमाहरुको पाठेघरको सुरक्षा गर्न स्वास्थ्यकर्मीहरुलाई शहर केन्द्रित मात्र नभइ दुर दराजका वस्तीमा गएर सेवा पुर्याउन मन्त्रि भण्डारीले आग्रह गरेका छन्।

नेपालमा प्रत्येक वर्ष २ हजार देखि २५ सय आमाहरुमा पाठेघरको क्यान्सर देखिने गरेको छ जसमा १२ सय देखि १५ सय आमाहरुले मृत्युवरण गर्ने गरेको हुँदा यस क्षेत्रमा तीनै तहको सरकारले समन्वय र सहकार्यमा विशेष लगानी गर्नुपर्ने कार्यक्रमका वक्ताहरुको भनाई रहेको थियो।
जनस्वास्थ्य कार्यालय सुर्खेतका कार्यालय प्रमुख करुणा भट्टराईका अनुसार एच.पी.भी. डीएनए परिक्षण मार्फत पाठेघरको क्यान्सर सम्बन्धी स्क्रिनीङ पहिलो चरणमा नेपालको ११ वटा जिल्ला मध्ये सुर्खेत जिल्लाको वीरेन्द्रनगर र गुर्भाकोटमा गरिनेछ । यो परीक्षण बिधी केही खर्चीलो भएपनी छिटो र प्रभावकारी रहने कार्यालयले जनाएको छ । यस विधीमा स्वास्थ्यकर्मीहरुले नमुना लिएर प्रयोगशालामा जाँचका लागि पठाउनेछन् । नतिजाहरुको अध्ययन गर्दा नेगेटीभ नतिजा आएमा हरेक ५/५ वर्षमा एच.पी.भी. डीएनए परिक्षण गर्ने र पोजेटीभ नतिहा आएमा हरेक १/१ वर्षमा एच.पी.भी. डीएनए परिक्षण गर्ने योजना रहेको कार्यालयले जनाएको छ। यो परिक्षण विधीबाट पाठेघर सम्बन्धी क्यान्सर लाग्नु भन्दा कम्तीमा १० वर्ष अगावै लक्षण पत्ता लाग्ने विषय डा. अमित सिङले जानकारी गराएका थिए। यो विधीबाट २५ वर्ष देखि ४९ वर्ष सम्मका महिलामा परिक्षण गरिनेछ।
