सल्यानमा पहिरोले अवरुद्ध राप्ती राजमार्ग १४ घण्टापछि खुल्यो


अविरल वर्षातसँगै आएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १४ घण्टापछि खुलेको छ ।

सोमबार बेलुकी चोरखोलामा खसेको पहिरो मंगलबार बिहान मात्र जेसिबीले हटाएपछि अवरुद्ध सडक खुलेको हो । कपुरकोट गाउँपालिका ३ चोरखोलामा खसेको पहिरोका कारण राप्ती राजमार्ग सोमबार बेलुकी ६ बजेदेखि अवरुद्ध भएको थियो । रातिको समयमा जेसिबीले काम गर्न नसकेपछि अवरुद्ध सडक तत्काल खुल्न सकेको थिएन । जसका कारण उक्त सडक खण्डमा चल्ने सवारी साधन र यात्रु अलपत्र परेका थिए । सडक खुलेपछि रोकिएका गाडीहरु गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

चोरखोलामा खसेको पहिरो जेसिबीले तीन घण्टा लगाएर हटाएको उनले जानकारी दिए । उनका अनुसार रातिको समयमा जेसिबीले काम गर्न नसकेको र पहिरोसँगै ढुंगा खस्ने क्रम नरोकिँदा राप्ती राजमार्ग लामो समय अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *