साउन ३१ बाके भारत र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट लर्ड्समा भइरहेको छ। यी दुई देशबीचको टेष्ट चलिरहेको बेला एक रोचक दृश्य मैदानमा देखिएको छ।

म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्। उनले भारतीय टिमको जस्तै जर्सी लगाएका हुन्छन्। जर्सीमा प्रायोजक र बीसीसीआई लोगो पनि थियो। यो संगै सेतो रंगको जुत्ता पनि उनले लगाएका थिए।

ती दर्शक भारतीय खेलाडीहरू नजिकै गए। उनी आफू फिल्डिङ गर्न आएको संकेत गर्छन्। त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई मैदान छोड्न आग्रह गरे।
तर, उनले जर्सी देखाउँदै भने,‘म किन मैदान छाड्ने? म भारतीय खेलाडी हुँ। देख्नु भएन मैले भारतको जर्सी लगाएको छु।’ यो सुनेर कमेन्टेटर र मैदानमा भारतीय खेलाडीहरु पनि हाँस्न थाले। मोहम्मद सिराजको हाँसो सबैभन्दा ठूलो थियो।
यो सबैका लागि रमाईलो पल थियो। यद्यपि, पछि ती व्यक्तिलाई सुरक्षाकर्मीहरुले बाहिर निकाले तर, उनी पूरै भारतीय खेलाडीको पोशाकमा थिए।
लर्ड्स टेष्टको तेस्रो दिन इंग्ल्याण्डले उत्कृष्ट ब्याटिङ गरेको छ। जो रुटले लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन्। उनी बाहेक जोनी बेयरिस्टोले अर्धशकीय पारी खेले। यी दुई देशबीचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो।

