काठमाडौं, भदौ १६ गते । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताउनुभएको छ । बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताउनुभएको हो ।
उहाँले काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गर्नुभयो । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनुपर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनुपर्ने कर्तव्य नेपाली काँग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उहाँले अनुरोध गर्नुभयो ।
१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उहाँले बताउनुभयो ।

