राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने 


काठमाडौं- नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा भएको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको हो।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा  १ करोड २५ लाख रुपैयाँ गरी कुल २५ करोड रुपैयाँ लगानी गर्न लागेको हो। 

बैंकले उक्त रकम २०७८ चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी फागुन १८ गतेसम्ममा बोलकबोल पेस गर्नुपर्ने छ। 

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ। यस्तै, राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ। 

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने व्यवस्थापन रहेको हुनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ। 

यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरु तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *