रङको पर्व होली आज नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । 
होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुस्लिम समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको नेपालगञ्ज–५ फुल्टेक्राका युवा नेता मुस्ताक अन्सारीले बताउनुभयो ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।
कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ ।
