कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए । २०६२र६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको मन्त्री बडुको भनाई छ ।
उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतका काम सरकारले गरेको बताए । मन्त्री बडुले विशेष परिस्थितिमा विशेष दायित्वका साथ अहिलेको सरकार बनेको उल्लेख गर्दै खतरामा पर्नै आँटेको संविधान रक्षा सरकारको मूल जिम्मेवारी भएको बताए ।
