चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्नू : आयोग


निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ।

बुधवार विज्ञप्ति जारी गरी आयोगले चुनाव चिह्न अंकित पहिरन वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक प्रचार–प्रसार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न आह्वान गरेको हो।

‘आचारसंहिताको दफा ४ को (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

राजनीतिक दल तथा उम्मेदवारले प्रचार सामग्री उत्पादन तथा वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको भन्दै त्यस्ता सामग्री उत्पादन तथा बिक्री वितरण तत्काल बन्द गर्न आयोगले सम्बद्ध सबैलाई आह्वान गरेको हो ।

आयोगले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्स लाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका उत्पादन नगर्न\नगराउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *