राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ।
राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।
विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए।
अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताइन्। सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि सङ्कुचित गर्ने मनशाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताए।
रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए । विधेयकको दफावार छलफलका क्रममा सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूले राखेका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने बताइन् ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते सोमबार अपराह्न १ बजे बस्नेछ ।
