सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका वीरेन्द्रनगरले अवैध संरचना हटाउन शुरु गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका क्रुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटमअनुसार संरचना हटाउनु शुरु गरेको हो ।
नगरपालिकाले मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक किनारामा रहेका अशोकका रुखहरु हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी–गणेशचौकसम्मको झण्डै एक हजार सात सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार आजदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।
नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढीे–गणेशचौक, वीरेन्द्रचौक–भानूचौक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्रचौक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नोती गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको छ ।
८३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी पार्कीङ्गका लागि रहने छ । निर्देशनालयले सिर्जनशील टोल तार र पोलका कारण क्रुप बनेको बजार क्षेत्रमा रहेका संरचना समयमै नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानून अनुसार अटेरी गरे कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।
