नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार पौडेलका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर मंगलबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटबारे बैठकमा कुनै ब्रिफिङ नभएको बताए।
यसअघि ओलीले पत्र पठाउँदै राष्ट्रपतिमा सघाउन समाजवादीलगायतका दललाई आग्रह गरेका थिए। बुधबारको बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा छलफलका साथै बिचार विमर्श भएको उनले बताए।
उनले सरकारमा जानेबारेमा पार्टीमा छलफल सुरु भइनसकेको दाबी गरे। ८ दलीय समीकरणमा नयाँ सरकारमा सहभागी हुने दलबारे छलफल सुरु भइनसकेकाले अहिले नै कुन मन्त्रालयमा जाने भन्ने विषय टुंगिनसकेको उनको भनाइ छ।
