नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध आक्रोश पोखेका छन्।
अखिल नेपाल महिला संघको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले वामपन्थीले राष्ट्रपति जित्नुहुँदैन भनेर डाँको छोडेर रुँदै हिँडेको टिप्पणी गरे।
‘माधव नेपालले त प्रचण्डले तपाईँ राष्ट्रपति हुनुस् भन्दा मैले मानिनँ कांग्रेस नै हुनुपर्छ भनेर मैले अड्डी लिएँ भनेर आफैंले भन्नुभयो’, ओलीले भने,‘प्रचण्डले वामपन्थीले राष्ट्रपति जित्नुहुँदैन भनेर प्रचण्ड डाँको छोडेर रोएको देखिएको । एमालेको राष्ट्रपति भयो भने देश ध्वस्त हुन्छ भनेर माधव नेपालले भने। योभन्दा नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली अरु के हुन सक्छ।’
नेकपा कालमा आफूले एकता गर्ने भनेर सबैलाई पद दिएको भन्दै ओलीले पछि आफैंले धोका पाएको चर्चा गरे।
‘एकता गर्ने भनेर जसलाई जे पनि दिएको छ। एउटा बलिराजा भन्ने थियो, जसले जे माग्छ दिन्थ्यो भनेजस्तो। मेरो त्यो स्वभाव पनि छ। अस्ति प्रचण्ड आए प्रधानमन्त्री मागे, दिएँ। यस्तो गर्ने मान्छेलाई पनि मैले प्रधानमन्त्री मागे, दिएँ।’ ओलीले थपे, ‘माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो, खाने भए खाउ पनि भनेको पनि हो। त्यसका लागि त अन्त अन्त हिँड्ने होइन नि पहिला पार्टीमा आउनुपर्यो नि! सप्रिन्छु भनेपछि त विचार गर्न सकिन्छ तर उहाँ सप्रिनेवाला होइन।’
नेपालको कम्युनिष्ट आन्दोलनलाई लगभग दुई तिहाइको स्थितिमा पुर्याए पनि प्रतिक्रियावादी देशी विदेशी शक्तिको इसारामा त्यसलाई ध्वस्त पारिएको ओलीको आरोप थियो।
माधव नेपालले पार्टी फुटाएको तर्फ संकेत गर्दै ओलीले आफ्नो घर डढाएर विपक्षीका पाउमा खरानी चढाएको टिप्पणी गरे।
