एमाले राष्ट्रिय सहमतिबाट भाग्यो : सांसद पौडेल


सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्। जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उनको जिकिर थियो।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत अनुसार राष्ट्रिय सहमतीको कुरा गर्दा एमाले किन भागेको भनी प्रश्नसमेत गरे। सांसद पौडेलले सहमतीको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठूलो पार्टी कांग्रेसलाईसँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वाभाविक भए पनि एमालेले त्यसलाई लत्याएको बताए।

उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतीमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाए। त्यस अवसरमा उनले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोडने अवस्था आएको पनि दोहोर्‍याए।

सांसद पौडेलले भने, ‘तर नेकपा (एमाले)सँग मेरो अनुरोध छ–नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ? दोस्रो दललाई सहमति चाहियो। पहिलो दललाई समेत सहमति गरेर जाऊँ भन्ने प्रधानमन्त्रीको कुरा गल्ती थियो? इतिहासको कठघरामा उभिएर हामी जवाफ दिन तयार छौं।’

सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *