एसइईका लागि २ हजार ३७ परीक्षा केन्द्र, ७८ हजार जनशक्ति खटिँदै


माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १७ गतेदेखि सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। एसइई परीक्षाको तयारी कसरी गर्ने ? भनी विद्यार्थीहरू तयारी गरिरहेका छन्।

यो परीक्षाको लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार एसइई परीक्षा सञ्चालनका लागि देशभर करिब ७८ हजार जनशक्ति खटिने छन्।

‘परीक्षामा केन्द्र अध्यक्ष, सहायक केन्द्र, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरि करिब ७८ हजार जनशक्ति खटिने छन्,’ उनले भने। उनले यी जनशक्तिहरूलाई खटाउन सबै तयारी अवस्थामै रहेको उनले जानकारी दिए।

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी हुँदै छन्। जसमा महिला २ लाख ५५ हजार ९१७ जना र २ लाख ६० हजार ६७४ पुरूष छन्।

गत वर्षको एसइई परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको थियो।

परीक्षा नियन्त्रक श्रेष्ठले यस वर्ष हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्लाहरूमा पुगिसकेको छ। अहिले यी प्रश्नपत्र र उत्तरपुस्तिका ती तोकिएका परीक्षा केन्द्रहरूमा पुर्‍याउने काम भइरहेको उनले जानकारी दिए।

परीक्षा स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सञ्चालन हुने उनको भनाइ छ। ‘हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा अध्यक्षतामा ‘जिल्ला परीक्षा समन्वय समिति’ हुन्छ। त्यो समिति मुख्य जिम्मेवार बन्छ, यसले शान्ति सुरक्षा, प्रश्नपत्र व्यवस्थापन, उत्तरपुस्तिका परीक्षा सेन्टरमा पुर्‍याउने, राख्ने र अनुगमन गर्ने काम समितिले गर्छ,’ उनले भने।

प्रदेश सरकारमातहत पनि समिति बनेको छ। ‘प्रदेशको शिक्षा हेर्ने मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय ‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति’ बन्छ, त्यसले प्रदेशमातहत जिल्लाहरूका परीक्षा सेन्टरमा अनुगमन गर्ने निर्देशन दिने, परीक्षालाई स्वच्छ र मर्यादित बनाउन पहल गर्छ,’ उनले भने।

परीक्षा केन्द्र टाढा हुँदा सबै बन्दोबस्त गर्नुपर्ने हुँदा विद्यार्थीसँगै अभिभावकहरूलाई तनाव परेको भन्दै होम सेन्टरको माग उठिरहेको छ। यो माग संसदमा समेत उठेको छ। आइतबार भएको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले होम सेन्टरको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले भने, ‘पहिला एसएलसी परीक्षालाई फलामे गेट भनेर भनिन्थ्यो, अहिले एसइई भनियो। आगामी साताबाट परीक्षा सुरू हुँदै छ, एउटा विद्यालयमा पढिरहेका विद्यार्थीहरू, एसइई परीक्षाका लागि अर्को विद्यालयको परीक्षा केन्द्रमा जानुपर्ने अवस्थाले परीक्षार्थी र अभिभावकहरूलाई परीक्षाको समयमा अनावश्यक तनाव परेको छ। त्यसकारण आफू पढेको अर्थात् होम सेन्टरमै परीक्षा दिने व्यवस्था गरियोस् भनेर सभामुख महोदयमार्फत सरकारलाई आग्रह गर्दछु।’

तर यो व्यवस्था गर्न सम्भव नभएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले प्रष्टयाएको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक श्रेष्ठ भन्छन्, ‘होम सेन्टर गर्न सम्भव छैन, होम सेन्टर दिँदैनौँ। अहिलेको शिक्षा नीतिमा ४ वटा विद्यालयका लागि २ वटा परीक्षा केन्द्र बनाउने कुरै रहेन, त्यो छुट्टै पाटो भयो।’

उनले अहिले जहाँ जहाँ परीक्षा केन्द्रहरू तोकिएको छ, यो वर्ष त्यहीँ परीक्षा सञ्चालन हुने र यो व्यवस्थाको लागि आगामी वर्षहरूमा छलफल गर्न सकिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *