प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको हो। विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ।
यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए। सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो।
कार्य व्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्ने गरी संशोधन राखिएको थियो। सांसदहरू राजन केसी, सञ्जय गौतम, रामहरि खतिवडा, अम्मरबहादुर थापा, भानुभक्त जोशी, रेखा यादव, रुपा सोसी चौधरी, नारायणी शर्मालगायतले संशोधन राखेका थिए।
छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालू रहेका अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकताअनुसार बस्ने भनि थप गरिने जानकारी दिए।
