कांग्रेसले नाम नपठाउँदा मन्त्रिपरिषद्‍ पूर्ण भएन : जनार्दन


नेकपा माओवादी केन्द्रका उपमहाससचिव जनार्दन शर्माले नेपाली कांग्रेसले मन्त्रीको नाम नदिँदा ढिलाइ भएको बताएका छन्।

शुक्रबार कर्णालीका सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव शर्माले कांग्रेसले आफ्नो भागमा परेका मन्त्रीको नाम दिन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन ढिलाइ भएको बताएका हुन्।

‘सम्भवतः सरकारले पूणता पाए पनि कांग्रेसले दिनुपर्ने मन्त्रीको नामहरू नदिएकाले पूर्णता पाइसकेको छैन। कांग्रेसले छलफल जारी राखेको बताएको छ। प्रधानमन्त्रीज्यूले पनि मन्त्रीको नाम माग गरिराख्नुभएको छ। चाँडै पूर्णता पाउनेछ,’ उनले भने।

उपमहासचिव शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक सय दिन गठबन्धन फेरकदल गर्दैमा बितेको बताए। यद्यपी सरकारले नीतिगत विषयमा महत्वपूर्ण काम गरेको बताए।

‘सरकारको १०० दिनको अवधि गठबन्धन फेरबदलमा बित्यो। सरकारले लिएको नीतिगत निर्णयहरू र योजनाहरू महत्वपूर्ण छन्। टिआरसी, संवैधानिक निकाय सम्बन्धी ऐनहरू अगाडि बढेका छन्,’ उनले भने।

उपमहासचिव शर्माले कर्णाली प्रदेशमा चाँडै गठबन्धनको सरकार बन्ने बताए। उनले नेकपा एमालेलाई सरकारबाट बाहिर्याएर गठबन्धनका दललाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने बताए।

‘कर्णालीमा गठबन्धनको फेरबदलसँगै नयाँ दिशा लिनुपर्ने आवश्यकता छ। त्यसका लागि गठबन्धनका दलहरूबीचमा छलफल भइसकेको छ। जीवनबहादुर शाहीसँग छलफल भयो। छिट्टै नै नयाँ स्वरूप दिनेगरी तयारी भएको छ,’ उनले भने।

उपमहासचिव शर्माले कोसी प्रदेशको शक्ति सन्तुलनको अवस्था जटिल रहेकाले समस्या समाधानका लागि केन्द्रमा शीर्ष नेताहरूबीच छलफल जारी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *