नेपाल विश्वविद्यालय विधेयक पारित गर्नुपर्छ : शिक्षामन्त्री राई


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्ने बताएका छन्।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बिहीबार नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयक पारित गर्नुपर्ने बताएका हुन्।

उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे। उनले नेपाल विश्वविद्यालयलाई छुट्टै एकाइका रुपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडि बढाउनुपर्ने बताए।
उनले भने‚ ‘शिक्षा, अर्थ, कानूनले हेरेर नै यो अगाडि बढेर संसदमा आएर समितिमा संशोधनमाथि छलफलको लागि प्रस्तुत भएको छ। यसबाट सरकार पछि हट्ने अथवा सरकार कञ्ज्युस्याँई गर्ने ठाउँमा जान्छ भन्ने कुरा बिल्कुलै होइन‚ यस हिसाबले नलिइदिनुहोला। हाम्रो विद्यमान ऐन, कानूनहरु र अब बन्न लागिरहेका ऐन, कानूनहरुको सापेक्षतामा कसरी अझै समुन्नत, अझै परिमार्जित गरेर लैजान सकिन्छ भन्ने नै राय माननीयज्युहरुको मनशाय हो भन्ने मैले बुझेको छु। नेपाल विश्वविद्यालय भन्ने छुट्टै इकाइको रुपमा मात्रै यसलाई नहेरेर समग्र शैक्षिक परिस्थिति, परिवेश मिलाएर यसलाई अगाडि बढाउनुपर्छ।’

उनले विधेयक अगाडि बढाउँदा कार्यान्वयन हुने गरी गर्नुपर्ने बताए। आगामी दिनमा कुनै त्रुटी र कमी नहुने गरी विधेयक अगाडि बढाउनुपर्नेमा उनको जोड छ। मन्त्री राईले नेपाल विश्वविद्यालयलाई नमूना विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी सोच्नुपर्ने बताए। उनले विश्वविद्यालयलाई नमूना बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुसँग आग्रह गरे।

‘तर यसलाई हामीले अगाडि बढाउँदा, ऐन बनाउँदा कार्यान्वयन पनि होस्‚ राम्रो परिणाम पनि देओस्‚ त्यसको प्रत्याभूति हुने ढंगले गर्नुपर्छ। हामीले काम गर्ने अनि फेरि भोलि त्रुटी भयो, कमी रह्यो भन्ने किसिमको टीकाटिप्पणी हुने अवस्था नरहोस्‚। नहुने दिशातिर लैजाऔँ‚’ उनले भने‚ ‘विधेयक फिर्ता लिऔँ भन्ने हिसाबले नसोचौँ। हामी यसलाई सकारात्मक ढंगले, राम्रो उपलब्धि दिने, नयाँ, नमूना स्थापित गर्ने ढंगको विश्वविद्यालय बनाउने गरी हामीले आफ्नो राय, सुझावहरु, संशोधनहरु अगाडि लैजाऔँ भन्ने यहाँहरुलाई निवेदन गर्न चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *