महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखापरीक्षकको काम बेरुजु निकाल्ने मात्र हो भनेर लिन थालिएको बताएका छन् ।
आइतबार बसेको लेखा समितिको बैठकमा महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनै पनि निकायले बेरुजु फर्स्योट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम बेरुजु निकाल्ने हो भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन्।
उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फर्स्योटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए। उनले बेरुजु फर्स्योटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए।
उनले एकै वर्षमा फर्स्योट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताए। महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बदनाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक, वैधानिक र व्यावहारिक रुपमा पनि नदिने बताए।
उनले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताए। उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो गर्यो भनेर राजनीतिक तहले बढावा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘जनताको जनमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु बदमास हुन्छन् भनेर लेखापरीक्षकले पछाडि दिमागमा राख्ने काम गर्दैन‚ नैतिक, वैधानिक र व्यावहारिक रुपमा नहुनुपर्ने हो। स्थानीय तहमा गएर मेरो लेखापरीक्षकले यस्तो गर्यो भनेर राजनीतिक तहले बढावा दिनु हुँदैन। त्यो निषेध गर्ने हो‚ त्यस्तो छ भने सम्बन्धित स्थानमा भन्नुपर्छ। बेरुजु फर्स्योटको वैज्ञानिक उपाय भनेको मुलुकको कानूनअनुसार एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नुपर्छ भनेको छ। होइन भने अर्को वर्ष परीक्षण गर्दा खर्च भएको हुनुपर्छ। बेरुजु फर्स्योट गर्ने विषय प्राथमिकतामा नै पर्दैन‚ अहिले बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो भने जस्तो भएको छ। राजनीतिक नियुक्तिका विषयमा तुलना गरौं। बेरुजु बढी राख्ने, अनियमितता गर्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गरौं। सबैभन्दा बढी सार्वजनिक निकायहरुमा राजनीतिक नियुक्ति हुने गरेको छ। त्यस्तोमा नियुक्ति गर्दा विगतका कार्यसम्पादनको आधारमा नियुक्त गर्नुपर्छ।’
उनले सार्वजनिक संस्थानहरुमा राजनीतिक नियुक्तिहरु गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए। उनले राजनीतिक नियुक्तिहरुमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए।
