हमासको आक्रमणबाट इजरायलमा मारिएका विद्यार्थी प्रवेश भण्डारीको शव परिवारलाई बुझाइएको छ।
हिजो (शनिवार) इजरायलबाट काठमाडौँ ल्याएको सल्यान शारदा नगरपालिका-३ सिरुवारका भण्डारीको शव नेपाल सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट आज साँझ नै सुर्खेतबाट ल्याएर परिवारलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिए।
परिवारले आज नै प्रवेशको अन्तिम संस्कार गरेका छन्। अन्तिम संस्कारमा सुरक्षा निकायलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। प्रवेश यही भदौ २० गते मात्र इजरायलका गएका थिए। उनी एक्लो छोरा थिए।
लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान क्याम्पसबाट इन्टर्नका लागि इजरायल गएकामध्ये १० जना विद्यार्थीको हमास आक्रमणमा ज्यान गएको थियो।
