प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
आज बुधवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यही मङ्सिर १४ गतेदेखि मध्यपहाडी पुष्पलाल लाेकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । विकास, निर्माण र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको सन्देश दिने गरी अभियान सञ्चालन गर्ने पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली बताउनुभयो । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प’ यात्रा नाम दिइएको याे अभियानका शुभारम्भ अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट गर्नुहुनेछ ।
अभियानका क्रममा राजमार्ग केन्द्रित मुख्य सहर र जिल्लामा भेला तथा अन्तरक्रिया गर्दै त्यहाँका उद्यमी व्यवसायीसँग भेट गर्दै, त्यहाँ राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्दै, चुनौतीहरूलाई सुन्दै त्यहाँका ऐतिहासिक स्थलहरूको अवलोकन गर्दै चेवा भञ्ज्याङमा पुगेर समापन गरिने पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
एमालेले याे अभियानमा केन्द्रीय नेताहरूलाई परिचालन गर्ने गरी मङ्सिर ६ गते काठमाण्डाैमा केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । यसअघि केन्द्रीय कमिटीको बैठक धनगढीमा बोलाउने भनिए पनि याे अभियानको काममा ढिलाइ हुने भएकाले केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने निर्णय गरेकाे ज्ञवालीले बताउनुभयो ।
एमालेले याे अभियानमार्फत नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षको उपलब्धिहरूको पनि सन्देश दिने र नागरिकमा निराशा हटाई उत्साहको वातावरण निर्माण गर्ने दाबीसमेत गरेको छ ।
