मन्त्रिपरिषद बैठक : सुजन र वीरेन्द्रका परिवारलाई १० लाख दिने निर्णय


सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रहरी दमनमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

मन्त्रिपरिषद बैठकले घाइतेहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृहमन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्वद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको उनले बताइन्।

आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिएर शान्ति सुरक्षा बिग्रन नदिन पनि बैठकले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *