राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि हुने बताएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।
उनले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस् भन्दै न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकहरूको समेत सहज पहुँच हुनुपर्नेमा जोड दिए।
न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र गतिशील एवं न्यायको मर्मलाई दरिलो बनाई यसप्रतिको जनविश्वास थप मजबुत बनाउँदै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
उक्त अवसरमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति पौडेललाई प्रतिवेदन पेस गरेका थिए।
