विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन्।

शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन्।

बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराईले २ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनि मन्त्री श्रेष्ठसँग जवाफ माग गरेकी थिइन्।

सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकुलपति छनोटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको भए पनि अब नरोकिने जानकारी दिइन्।

उनले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोहीअनुरूप अगाडि बढ्ने र प्रक्रिया नरोकिने बताइन्।

‘सुदूर र मध्यपश्चिम विश्वविद्यालयको मापदण्ड कडा भयो भनेर आवाज उठेकाले रोकिएको थियो। आज चिकित्सा शिक्षा आयोगको विहान बालुवाटारमा बैठक थियो‚’ उनले भनिन्‚ ‘त्यो दुईवटा विश्वविद्यालयको सर्च कमिटीमा म सहकुलपतिको हैसियतले छैन। त्यसको नेतृत्व युजिसीको अध्यक्षले गर्दै हुनुहुन्छ र प्रधानमन्त्रीज्युलाई अनुरोध गरेर विश्वविद्यालयको लिडबाट अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर कन्भिन्स पनि गरिरहेका छौँ। त्यहीअनुरूप अगाडि बढ्छौँ ‚ अब रोकिँदैन।’

मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरुसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने पनि बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *