गर्मीयाम सुरु भएसँगै कर्णालीवासी अघोषित लोडसेडिङको मारमा छन् । यहाँ ‘हावा चल्यो कि विद्युत् गायब’ हुन्छ । यो समस्या विगत तीन दशकदेखिको हो । अनियमित विशेष गरी विद्युत् र ‘लो–भोल्टेज’ले प्रदेश राजधानी वीरेन्द्रनगरको बसाइँ यतिबेला निकै सकसपूर्ण छ ।
कर्णालीमा आउने लाइन कोहलपुर–सुर्खेत ३३ केभी हो । निकै पुरानो संरचना भएका कारण लोड पर्नासाथ विद्युत् प्रवाह अवरुद्ध हुँदा उद्योगी, व्यवसायीलगायत सबै क्षेत्रलाई समस्या भइरहेको छ ।
अनियमित विद्युत्को विषयमा अदालतमा मुद्दा मामिलादेखि पटक–पटक आन्दोलन पनि नभएका होइनन् तर पनि कर्णालीवासीले अनियमित विद्युत्को मारबाट मुक्ति पाएका छैनन् । अहिले सञ्चालन भइरहेको ३३ केभी प्रसारण लाइन ०४५ सालमै विस्तार भएको संरचना हो । अहिले जीर्ण भइसकेको यही लाइनबाट कर्णालीका अन्य जिल्लामा विद्युत् सेवा विस्तार भएको छ ।
सबै जिल्लाको प्रमुख केन्द्रबिन्दु भनेको कोहलपुर–सुर्खेत ३३ केभी लाइन नै हो । यसको एउटा क्षेत्रमा समस्या आयो भने बाँकी सबै जिल्लामा विद्युत् अवरुद्ध हुने गरेको छ । पुरानो तथा जीर्ण संरचनाका कारण बिस्तारै हावा चल्दा पनि विद्युत् पोल ढल्ने हुन्छ । अर्को थोत्रा ट्रान्सफर्मर र पुराना संरचनाका कारण विद्युत् सेवामा समस्या आउने गरेको प्राधिकरणले बताउने गरेको छ ।
सुर्खेत वितरण केन्द्रका मात्रै ६० हजार उपभोक्ता छन् । सबै जिल्लाको लोड कोहलपुर–सुर्खेत मुख्य लाइनमा पर्ने हुँदा ‘लो–भोल्टेज’ को समस्या हुने गरेको छ ।
अनियमित विद्युत्को समस्या बढेपछि कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले प्रमुखताका साथ चासो दिइरहेका छन् । कँडेलले आइतबार विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुखसहितको टोलीलाई मुख्यमन्त्री कार्यालयमा नै बोलाई छलफल गरेका छन् ।
