पत्रकार विश्वकर्मा मृत्य प्रकरणको छानविन गर्न माग


महेन्द्रनगर । श्रमजिबी पत्रकार संघले टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्मा मृत्य प्रकरणको छानविन गर्न माग गरेको छ ।

विश्वकर्माको बिहीबार उपचारको क्रममा मृत्यु भएको थियो । उपचारमा लापरबाही गर्ने सिभिल हस्पिटललाई कारबाही हुनुपर्ने माग राखिएको श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए ।

‘घटनाको छानविन गरि अस्पताल प्रशासनलाई कारबाही गरिनुपर्छ,’ उनले भने, ‘आर्थिक अभावकै कारणले अस्पताल प्रशासनले पत्रकार विश्वकर्माको उपचार नगरेको बुझिएको छ ।’ टिभीटुडे टेलिभिजनले उनको परिवारलाई क्षतिपुर्ति दिनुपर्ने पनि जैसीले बताए ।

‘उनी बिरामी हुँदा समेत टेलिभिजनले उपचार खर्च नदिएको बुझिएको छ,’ उनले भने, ‘कानूनी रुपमा पाउनुपर्ने पारीश्रमिक उनलाई टेलिभिजनले नदिएको देखिन्छ ।’ सञ्चारमाध्यममा काम गर्नुअघि नियुक्ति पत्र, मासिक तलब, परिचय पत्र र सूचना विभागबाट दिइने कार्डकाबारेमा क्लिएर हुनुपर्ने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल बताउँछन् ।

‘श्रमजीवी पत्रकारहरुका लागि यो बाहेक अन्य कुनै उपाय छैन्, पछिल्लो समय अलिअलि पैसामा काम गराउने प्रवृति मौलाएको छ,’ उनले भने, ‘रहरका साथै कतिपयले बाध्यताले मिडियामा काम गरेको पाइन्छ ।’ 

समाजको सेवामा समर्पित पत्रकारको सुरक्षा गर्नु सबैको दायित्व भएको उनले बताए ।  ‘उपचारको अभावमा मृत्युवरण गर्नु भएका पत्रकार मित्र एलबीको घटनाले स्तब्ध बनाएको छ,’ सिग्देलले भने, ‘यो घटनाले हाम्रो पेशाको हैसियत छर्लङ्ग पारेको छ। दोषी जो होलान, त्यो त थाहा हुने नै छ । मात्र छानविन आवश्यक छ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *