ऋण लिएर संघीयता धान्ने कुरा गलत : चित्रबहादुर


राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

सांसद केसीले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनाआवश्यक बोझ नेपाली जनताले झेल्नुपरेको दाबी गर्दै उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि आफूहरुले संघीयता खारेजी गर्नुपर्ने कुरामा जोड दिनुपरेको बताए।

उनले संघीयता कायम राखेर मुलुकमा साधारणतर्फको खर्च घटाउन नसक्ने कुरामा ख्याल गर्न पनि सरकारलाई सचेत गराए। सांसद केसीले संघीय संरचना रहेसम्म आम नेपाली जनताले आर्थिक बोझ झेलिरहनुपर्ने तर्कसमेत गरे।

उनले भने, ‘साधारणतर्फ हाम्रो खर्च यसरी किन बढिरहेको छ? के त्यसको निदान केही सरकारी संरचना हटाएर हुन्छ त? निश्चित रुपले त्यो सम्भव छैन। साधारण तर्फको बढदो बजेट भोलुमको मुख्य कारण संघीयता हो। संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ। साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ। जसको परिणाम नेपाली जनतामाथि अनाआवश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ। त्यसैले संघीयताको खारेजीमा हाम्रो दलले जोड दिँदै आएको छ। वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउनपर्छ ।’

सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *