गृहमन्त्री लामिछानेले दलहरूसँग मागे विपद्‍मा खटिने स्वयंसेवक


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्का समयमा स्वयंसेवकका रुपमा खटिने कार्यकर्ताको विवरण मागेका छन्।

बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन्।

उनले मनसुनजन्य विपद्‌मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिन सक्छन्? सोही अनुसार मन्त्रालयले योजना बनाउने उनले बताए। उनले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद्‌ राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गरे। उनले राजनीतिक दलहरूको संगठन सबैतिर हुने भन्दै सो संगठनलाई विपद् व्यवस्थापनमा लगाउँदा प्रभावकारी हुने पनि बताए।

मन्त्री लामिछानेले भने, ‘सम्पूर्ण राजनीतिक दलहरुलाई एउटा प्रस्ताव म के राख्न चाहन्छु भने आउँदै गरेको मनसुनजन्य विपद्का लागि गृह मन्त्रालयले स्वयंसेवकको रुपमा तपाइँको राजनीतिक दलबाट कति संख्यामा साथीहरूको अपेक्षा गर्न सक्छौँ होला? ति मध्ये कति राहत, उद्धारमा अनुभव भएका हुनुहुन्छ होला? असोज १९ सम्मका लागि सम्पूर्ण राजनीतिक दलहरूले हामीले अपेक्षा गर्न सक्ने भन्ने वित्तिकै उपलब्ध गराउन सक्ने जनशक्तिबारे जानकारी गृह मन्त्रालयलाई दिनुभयो भने एकीकृतरुपमा गर्न खोजेको योजनाका लागि मद्दत हुन जान्छ ।’

उपप्रधानमन्त्री लामिछानेले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलको साझा मञ्च बनाउनु आवश्यक रहेको भन्दै यसतर्फ पनि सरकारले सोचेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *