कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको नौ महिना म्याद थप भएको छ। आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरेको आयोजना प्रमुख रवि चौधरीले बताए। ७० करोड रुपैयाँमा निर्माण काम शुरु गरेको भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्ट प्रालिले २०७७ असारदेखि लाइन विस्तार कार्य गरेको थियो।
आयोजना निर्माण गर्न ६ हजार रुखमा टाँचा लगाएको चौधरीले बताए। राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार ८०० रूखमा छपान गरिसकिएको र बाँके , बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान हुने भएको हो। त्यसैका लागि छपान गरिएको र अब कटानको फाइल प्रमाणित भएर आउन साथ रूख काट्न शुरु गरिने प्रमुख चौधरीले बताए।
२०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो। मन्त्रिपरिषदबाट निर्णय भएपनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको आयोजना प्रमख चौधरीले बताए। मन्त्रिपरिषदको निर्णय अनुसार रूखमा छपान कार्य भने सकिएको छ। सुर्खेतको वीरेन्द्रनगर-११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुन सकेको छैन।
विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन। विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्प समेत मागेका हुन्।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ। प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ। पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माण कार्यले गति लिन सकेको छैन।
हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ। १०५ फाउण्डेसन निर्माण गरिएको छ भने १० वटा फाउण्डेसन बनिरहेका छन्। हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ। सुर्खेतको सुब्बाकुनामा सब-स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
