बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गरेको छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१।८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए।

उनले तदनुरूप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेश, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरे। उनले प्रदेशगत विनियोजनको तथ्यांक हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मक रूपमा पर्याप्त बजेट विनियोजन रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ। बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमता अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोहीअनुरूप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेश, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छ।’

उनले बजेट बाँडफाँडका विषयमा प्रतिनिधिसभा सदस्यहरूले चासोका साथ उठाएका महत्त्वपूर्ण विषयहरूमा सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने विश्वास समेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *