राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना सकिएको बताएका छन्। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नुस्, मेरो शुभकामना छ।’
आफूले विभिन्न कारणबस राजाको एजेण्डा छाडेका बताए। उनले भनेका छन्, ‘तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो। पार्टीहरू असफल भएर राजा आउने होइन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरु नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए।’
अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पारेर हिन्दु राष्ट्रलाई बन्धक बनाउन नहुने उनको भनाइ छ।
‘२/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन। मलाई थाहा छ, अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ। अहिले गालि गलौज र आरोपहरू खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु’ उनले भनेका छन्, ‘पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नुस्।’राजाको माया लागेपनि राजसंस्थाप्रति सम्मान सदैव रहिरहने बताए।
