राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूको गृहमन्त्रीलाई आग्रह


नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ।

बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो। सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौं लगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ।

वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिन पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरूले माग गरेका छन्। काठमाडौंका पालिकाहरूमा सीमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनर्विचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता कृष्णगोपाल श्रेष्ठले बताए। उनले आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रूपमा लिएको जानकारी दिए।

उनले भने, ‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिई आएको वृद्धभत्ता लिन पाइएन। यो ज्येष्ठ नागरिकहरूको पीडाको विषय भयो। यसलाई व्यवहारिक गर्न यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ। गृह प्रशासनले पनि यसलाई सहजीकरणका लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो।’

उनले राष्ट्रिय परिचयपत्र प्रभावकारी र सहज रूपमा जनताले पाउनुपर्ने भन्दै गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *