नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्।
आइतवार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिनापैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताए। उनले भ्रष्टाचार र बेथिति अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए।
उनले आफ्नो स्वार्थका निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताए। उनले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्धन गर्न आवश्यक रहेको बताए। उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए। उनले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरूमा एकता र सहमति आवश्यक रहेको बताए।
नेपालले भने, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ। बिनापैसाको कुनै काम हुँदैन। सेटिङ छ। त्यसैले यो बेथिति अन्त्य गर्ने कसरी? यो नीतिमा पनि देखा पर्छ। काम र व्यवहारमा देखापर्छ। दोस्रो समस्या भनेको सामग्रिक बृहत् चिन्तनको कमी। हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति परियोजना बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ। पूर्वाधारका लागि शिक्षा र स्वास्थ्यको विकास होस्।’
अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै उनले एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि आरोप लगाए।
