बलात्कार घटनाबारे संसद्‌मा आवाज उठेपछि छानविन गर्न सभामुखको निर्देशन


सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्।

शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए।

सांसद थापाको माग लगत्तै सभामुख सापकोटाले घटनाबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन्।

सरकारलाई निर्देशन दिँदै सभामुखले, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाई राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसा सम्बन्धि विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु।’

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका थिए।

बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार गर्नुपर्ने बताए।

‘हिजो साँझ घर जाँदाखेरी श्रीमती र दुईवटा साना-साना छोरीहरू सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्ष अगाडी आफुलाई बलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन्’ सांसद थापाले भने, ‘त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु।’

यत्रो विषय सार्वजनिक भइसकेपछि सरकारले तत्कालै अनुसन्धानको दायरामा ल्याउनको आग्रह समेत गरेका छन्।

‘यही संसदबाट बनाएको बलात्कार सम्बन्धी कानून हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयको सम्बन्धमा पुर्नविचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु’ उनको भनाइ छ।

एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत आफुलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *