प्रधानमन्त्री प्रचण्डको समर्थन नगर्न रास्वपालाई योगेश भट्टराईको आग्रह


नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्न आग्रह गरेका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद भट्टराईले रास्वपालाई यस्तो आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव दिए।

उनले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताए।उनले प्रधानमन्त्री दाहाललाई साथ दिएर रास्वपालाई नै क्षति हुने भन्दै एकपटक सरकारलाई दिएको समर्थनका विषयमा सोच्न आग्रह गरे। भट्टराईले एमाले मिसन ग्रासरुट र मिसन ८४ मा लागेका वेला उनले फेरि सहयोग माग्दा सहयोग गरेपश्चात समेत लो प्रोफाइलका मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गरेको आरोपसमेत लगाए।

भट्टराईले संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्दा पनि प्रधानमन्त्री दाहालले २८ गतेसम्म लम्ब्याउन नमिल्ने धारणा राखे। उनले संसदमा विश्वासको मतभन्दा पनि संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुने बताए। ‘संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसके। प्रधानमन्त्री २८ गतेसम्म लम्ब्याउने कुरा किन भयो‚ बुझ्नसकेका छैनौँ‚’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाईसक्नु भएको छ। प्रधानमन्त्रीले संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ।’

उनले पहिलोपटक विश्वासको मत लिँदा २६८, दोस्रोमा १७२, तेस्रो र चौथो पटक १५७ मत प्राप्त भएको भन्दै अब विश्वासको मत लिइराख्नु औचित्य नरहेको बताए।

‘उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८, दोस्रोमा १७२, तेस्रो र चौथो पटक १५७ मत प्राप्त गर्नुभयो। अब उहाँले विश्वासको मत लिँदा कति मत प्राप्त गर्नुहुन्छ?‚’ उनले भने, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु‚ उहाँहरु सत्तापक्षमा बस्नुभएको छ तर प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा बसिरहनु भएको छ भने तपाईंहरु कता जाँदै हुनुहुन्छ‚ एकपटक सोच्नुहोला।’

उनले प्रधानमन्त्री दाहालमा देखिएको निरन्तरको अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेकाले कांग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको बताए। भट्टराईले संविधान जारी भएको ८ वर्षभित्र दाहालले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण स्वभाव बुझ्नसमेत गाह्रो भएको बताए।
उनले संविधान निर्माणपछि देशलाई स्थिरतातिर लैजाने वेला एमाले र कांग्रेससँग सहकार्य गर्दै सत्तामा बसिरहने खेल खेलेको बताए।

उनले कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेकाले एमाले सोच्न बाध्य भएको बताए। उनले राष्ट्रिय सरकारको कुरा नाजायज नभए पनि आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व दाहालले गर्न नसक्ने बताए। भट्टराईले मुलुकको आत्मविश्वास दिनप्रतिदिन गुम्दै गएको र नेपालप्रति अन्तरराष्ट्रिय समुदायको विश्वास गुम्दै गएको बताए। उनले वैशाखमा भएको लगानी सम्मेलनमा १० अर्बको पनि लगानी प्रतिबद्धता नभएको बताए। उनले कर्मचारीतन्त्र, सुरक्षा निकायले आत्मविश्वास गुमाएको दावी गरे।

भट्टराईले अब काँग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *