कर्णालीमा नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने माओवादी मन्त्रीहरूकाे तयारी


केन्द्रमा समीकरण बदलिएर नेपाली कांग्रेस र नेकपा एमालेसहितको नेतृत्वमा सरकार बनेसँगै कर्णाली प्रदेशमा यसअघि नेकपा माओवादीबाट बनेका मन्त्रीहरूले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।

यद्यपि मुख्यमन्त्री यामलाल कँडेल सङ्घीय राजधानी काठमाडौँ भएकाले मन्त्रीहरू मुख्यमन्त्रीको प्रतीक्षामा छन् । ०८० चैत्र २७ गते नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए । ८ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिं परियार छन् । ऊर्जामन्त्री परियार वैशाख १२ र बाँकी मन्त्रीहरू वैशाख १८ मा नियुक्त भएका थिए ।

केन्द्रमा समीकरण बन्ने बित्तिकै प्रदेशका पनि त्यसको असर पर्ने भएकाले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न आफूहरू तयार रहे पनि मुख्यमन्त्री प्रदेश बाहिर भएकाले कुरेर बसिरहेको अर्थमन्त्री महेन्द्र केसीले बताए । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा पनि काठमाडौँमै छन् । ‘हामी चारै जनाले राजीनामा दिनका लागि पत्र तयार गरेर राखेका छौँ,’ उनले भने, ‘मुख्यमन्त्री ज्यू काठमाडौँ हुनुहुन्छ, आएपछि हामी राजीनामा बुझाउँछौँ ।’ राजीनामा पत्र मुख्यमन्त्रीलाई बुझाउनु भन्दा पहिला पत्रकार सम्मेलन गरिने केसीले बताए । यसअघि नेपाली कांग्रेसले केन्द्रमा माओवादी–एमाले समीकरण बनेको पछिल्लो दिनमै राजीनामा र समर्थन फिर्ता लिएर सरकारलाई सहजता प्रदान गरेको थियो । आफूहरू पनि कुर्सीमा बसिराख्न नचाहेको उनले बताए । ‘हामीलाई कसैले राजीनामा दिनुस् भनेर त भनेका छैनन्, तर छिटो निस्किन पाएको भए हुन्थ्यो भन्ने लाग्या छ,’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले पनि मुख्यमन्त्री आउने बित्तिकै राजीनामा दिइने बताए । मुख्यमन्त्री कँडेल शनिबार काठमाडौँ गएका हुन् । नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुनेदेखि अन्य विभिन्न कामका लागि उनी काठमाडौँ गएको कँडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कँडेल साउन ३ गते फर्किने कार्यतालिका रहेको छ । यद्यपि त्यो निश्चित भने छैन । ‘खासमा तीन गते नै फर्किने भन्ने थियो, केही लम्बिने जस्तो पनि देखिएको छ,’ कँडेलको सचिवालयका एक सदस्य घनश्याम पाण्डेले रातोपाटीसँग भने । एमाले–कांग्रेस गठबन्धनको सरकार बनेपछि कर्णालीमा माओवादी पहिलो पटक प्रतिपक्षमा बस्नेछ । प्रदेश सरकार बनेयता कर्णालीमा माओवादी निरन्तर सत्तामा छ । नयाँ समीकरण अनुसार कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलको निरन्तरता कायमै हुने देखिएको छ भने अहिले माओवादीका मन्त्रीहरू भएको ठाउँमा कांग्रेसबाट मन्त्री भित्रिने छन् ।

यद्यपि कांग्रेसले अहिले खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई खाली राख्न नहुने तर्क गरेको छ । मुख्यमन्त्री कँडेलले यसअघि भौतिक तथा सहरी विकास राज्यमन्त्री नियुक्त गरेर कानुन मन्त्रालय आफैँसँग राखेका थिए । नयाँ सरकार बन्न अझै केही दिन लाग्ने देखिएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरूको लाइन भने लामै छ । सचेतक विष्ट मन्त्रीका लागि १४ जना सांसदहरूले नै दाबी गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *