नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभई विराट रहेको बताएका छन्। सोमबार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कर्णाली पहिला विकट भए पनि अहिले विराट रहेको बताए।
उनले कर्णाली सभ्यता, स्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताए। उनले कर्णालीको स्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताए। उनले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उनले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताए।
उनले भने, ‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदै छ। कर्णाली सभ्यता, स्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ। कर्णालीको स्रोत साधनको उपयोग गरेर १५ वर्षभित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट स्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदै छौँ। कर्णाली कुनै बेला विकट थियो, अब विराट छ।’
अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताइन्। उनले धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताइन्। कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने बताइन्। उनले कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको बताइन्।
कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने बताइन्।
