कर्णालीका मुख्यमन्त्री कँडेललाई दोस्रोपल्ट विश्वासको मत प्राप्त


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेश गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसद सहभागी थिए।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भइनन्। सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए। सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्‍यो। एमाले संसदीय दलका नेतासमेत रहेका कँडेललाई एमालेका ९ र कांग्रेसका १४ जना सांसदले मत दिएका थिए।

प्रतिपक्षी दल माओवादी केन्द्रका १३ र समाजवादीका एकजना प्रदेशसभा सदस्यले कँडेललाई मत दिएनन्। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा २१ सिट आवश्यक पर्छ। मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लागि लगातार अग्रसर भइरहने बताए। कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख १३ गते पहिलो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका थिए।

त्यो वेला माओवादी र समाजवादीको समर्थन पाएका उनले केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमाले सरकार बनेको छ।

गत साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिने भएका थिए। संघमा कांग्रेस-एमाले गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ।

सोहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ। मुख्यमन्त्री कँडेलले आइतवारमात्र कांग्रेसका चारजना मन्त्री नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *